बारा । मंगलबार बाराको सिमराबाट मोटरसाइकलमा ‘प्रेस’ लेखेर लागुऔषध तस्करी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ बस्ने ३० वर्षीय जीतेन्द्रकुमार सिंह र भारत विहार बस्ने २२ वर्षीय नासिर आलम रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी गोविन्द पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल चढेका जितेन्द्रले साइकल चलाएर वीरगन्जबाट सिमरातर्फ आइरहेका आलमलाई सुरक्षा दिँदै हिँडेको बेला पक्राउ गरिएको डीएसपी पुरी जानकारी दिए ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजीपाम, नुफिन र फेनारगन ३–३ सय था बरामद भएको पुरीले बताए । लागुऔषध ओसारपोसारमा संलग्न जितेन्द्र लामो समयदेखि आफूहरुको खोजी सूचीमा उनले जनाए ।
पुरीले मोटरसाइलमा प्रेस लेखेको भए पनि उनीहरु पत्रकार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्