काठमाडौं । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिस्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एसियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।
झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले ८ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । ३ दिनअघि दाह्री काट्न घर नजीकैको ुचारआली बजार जान्छुु भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।
उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।
विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा ९माओवादी०का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।
उनले झापा विद्रोहपछि पक्राउ परी ९ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए ।
भारतीय प्रहरीले उनी एसियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । रासस
आफ्नो प्रतिकृया दिनुहोस्