काठमाडौं। चीनको वुहानबाट सुरूभइ विश्वभर महामारीको रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)ले अधिकांश मुलुक प्रभावित बनेको छ।
नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो समयमा भएको परीक्षणमा नयाँ संक्रमित नभेटिएको बताए।
‘हालसम्म ९१७ जनाको परीक्षण भएकोमा पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा नेगेटिभ देखिएको छ,’ उनले भने। शनिबार बागलुङकी एक युवतीमा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिएकी पाँचौ संक्रमित हुन्। उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
शनिबारको सवा ४ बजेको ब्रिफिङमा उनको विषयमा जानकारी दिइएको थियो। आइतबारको ब्रिफिङमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित फेला नपरेको जानकारी दिइएको हो।
धनगढीको सेती अस्पतालमा एक जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामन्य रहेको छ। नेपालमा पहिलो पटक भेटिएका बिरामी भने उपचारपछि निको भइसकेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्