काठमाडौं । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन् ।
दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस आइतबार बिहान एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते मध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा पठाइएको उनले बताए ।
ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्