काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ ।
ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित ७ जनाको निधन भएको थियो ।
दुर्घटनामा अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर धु्रवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।
यसैबीच, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।
अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् ।
दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको जानकारी दिँदै पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने बताए ।
अर्को वर्षबाट भने अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने मन्त्री भट्टराईले जानकारी दिए । यस्तै, अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ ।
केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई ५० लाख रुपैयाँ र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई २० लाख रुपैयाँ पठाएको छ ।
सो रकमले यो वर्ष नै विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए । रासस
आफ्नो प्रतिकृया दिनुहोस्