काठमाडौं । माघ पहिलो साताभित्र उखु कृषकले पाउनुपर्ने रकम भुक्तानी नगर्ने चिनी मिल मालिकमाथि सरकारले कारवाही गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार माघको पहिलोसाताभित्र कृषकको भुक्तानी दिन उद्योगीलाई निर्देशन दिइसकिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल र उद्योगमन्त्री लेखराज भट्ट सम्मिलित बैठकले भुक्तानी नदिनेमाथि कारवाही थाल्ने निर्णय गरेको हो ।
सरकारो निर्णयअनुसार उखु किसानलाई चिनी उद्योगहरूले २५ पुससम्ममा ८० प्रतिशत रकम र बाँकी २० प्रतिशत माघ पहिलो सातासम्म बुझाउनु पर्नेछ ।
निर्णय अटेर गर्नेको पहिलो चरणमा कारोबार रोक्का गरिने र क्रमश कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने मन्त्री भट्टले बताए ।
मन्त्रालयले उद्योगीलाई बाँकी रकम तिर्न आज निर्देशन दिएको उनको भनाइ छ । लुम्बिनी सुगर्स मिलका सञ्चालकबाहेक सवै सञ्चालक सम्पर्कमा आइसकेको सरकारको दाबी छ ।
यसैवीच, चिनी उद्योगले किसानलाई बक्यौता रकम भुक्तानी गर्न शुरू गरेका छन् । उद्योग मन्त्रालयकाअनुसार एक सातामा उद्योगले किसानलाई सात करोड रूपैयाँ भुक्तानी गरिसकेका छन् ।
महालक्ष्मी सुगर्स मिलले उद्योग मन्त्रालयमा उपस्थित भएर २५ पुसभित्रमा कृषकका सवै कक्यौता भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ भने अन्नपूर्ण सुगर्स मिल र लुम्बिनी सुगर्स मिलले पनिसमयमै भुक्तानी गर्ने प्रतिवद्धता जनाइसकेको मन्त्रालयले जनाएको छ ।
किसानसँग उखु किनेबापत अन्नपूर्णले ५० करोड, महालक्ष्मीले २१ करोड, श्रीरामले ४२ करोड, इन्दिराले १० करोड, लुम्बिनीले १० करोड र बाग्मती सुगर मिलले ११ करोड रूपैयाँ तिर्न बाँकी छ ।
आफ्नो प्रतिकृया दिनुहोस्