काठमाडौं । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी गतिविधि गरेको भन्दै असन्तुष्ट पौडेल समूहले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा सुरु भएको भेलामा उनीहरु पक्षधर अधिकांश जिल्लाका सभापतिहरु सहभागी छन् ।
आफ्नो पक्षका सिनियर नेताहरुसमेत सहभागी भएर सो पक्ष अहिले सभापतिसँग परामर्श गरिरहेको छ ।
नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, डा। रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा। मिनेन्द्र रिजालसहितका नेताहरु सहभागी छन् ।
२६ मंसिरमा संस्थापनले एकपक्षीय रुपमा केन्द्रीय समिति बैठक गरेको, सहमतिको प्रयासकाबीच ११ पुसमा एकलौटीरुपमा महाधिवेशनको कार्यतालिका ल्याएको, विधानको महत्वपूर्ण धारा निलम्बन गरेको भन्दै यी विषय सच्याउनुपर्ने उनीहरुको माग छ ।
पार्टी केन्द्रमा भएको एकलौटी प्रयासबारे जिल्ला सभापतिहरुलाई जानकारी गराउने र जिल्लामा आफ्नो पक्षको स्थितिबारे उनीहरुबाट जानकारी लिने तयारीमा यो समूह छ ।
भेलामा नेता पौडेलले सभापति देउवाले एकलौटी रुपमा कार्यतालिका ल्याएको, विधानको महत्वपूर्ण धारा निलम्बन गरेको भन्दै यी निर्णय सच्चाएपछि मात्रै बैठकमा सहभागी हुनुपर्ने बताएका छन् ।
पौडेल र सिटौला पक्ष २६ मंसिरयता पटकपटक स्थगित हुँदै र बस्दै आएको केन्द्रीय समितिको बैठकमा गएका छैनन् ।
छलफलमा सहभागी काभ्रे सभापति मधु आचार्यले ५१ जिल्ला सभापति सहभागी भएको जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्