काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव भएको छ । केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य भएका छन् ।
पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । सो केन्द्रमा भने स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताए ।
केही दिनअघि सम्पर्क गरी यस विषयमा बुझ्दा प्रदेश सरकारबाट टेन्डर भएर औषधि दाखिला प्रक्रियामा रहेको जनाइएको छ ।
निःशुल्क रुपमा स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात् बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नु परेको छ ।
आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको सङ्ख्या शून्य रहेको कार्यालय प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । कार्यालयबाट प्रदान गरिने सेवासुविधा नभएपछि बिरामीको आकर्षण घटेको रहेछ ।
सो स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नसा, छाला, पायल्सलगायत समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् ।
प्रदेश सरकारले शल्यक्रिया कक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको नौ लाख रूपैयाँबाट सामान खरिद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको डा। मण्डलले जानकारी दिए । रासस
आफ्नो प्रतिकृया दिनुहोस्