काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को गाडी ‘नो पार्किङ’ मा पार्क गरेको भेटिएपछि ट्राफिक प्रहरी जनकपुरधामले कारबाही गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२ भानु चोकमा आइतवार बिहान नो पार्किङमा पार्क गरेर राखिएको यूएनको गाडीलाई ट्राफिक प्रहरीले ह्वीलर लगाएर कारबाही गरेको छ ।
‘युएनको ६६-८-१३-२१ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा पार्क गरेर राखिएको अवस्थामा भेटिएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले व्हीलर लगाएका हुन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख परशुराम घिमिरेले भने, ‘गाडी चालकसँग सवारी चालक अनुमति पत्र लिएर गाडीलाई छाडिएको छ ।’
सवारी चालक अनुमति पत्र लिएर आवश्यक जरिमाना तिरेपछि सो चालक अनुमति पत्र दिइने उनले बताए । गाडीमा ह्वीलर लगाएको भएपनि गाडी नै झिकाएर होल्ड गरेर कारबाही गर्ने प्रावधान नभएकाले गाडीलाई छाडिएको उनको भनाइ छ ।
जनकपुरधाममा यसप्रकारको कारबाही पहिलो चोटी गरिएको छ । युएन, प्रेस, एम्बुलेन्स, विद्यालयको वसलाई चेकजाँच गर्नेपनि चलन थिएन । प्रहरी निरीक्षकसमेत रहेका ट्राफिक प्रमुख घिमिरेले ट्राफिक नियम उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्