काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ । फाइनलमा भुटानलाई दुई एकले हराउँदै नेपालले स्वर्ण डिफेन्ड गर्न सफल भयो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले निकै राम्रो टक्कर दिएको थियो । खेलको नबौ मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे । दर्शकले खचाखच भएको मैदानको १७ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि अभिशेख रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिशेखको यो तेस्रो गोल हो । एक गोलले पछि परेको भुटानले १९ औं मिनेटमा गरेको प्रहार पोष्ट माथिबाट बाहिरीयो । उसका चेन्चोको प्रहार फ्रेममा रहन सकेन । त्यसपछि ३४ औं मिनेटमा चेन्चो ग्याल्जोङले डिबक्समा राम्रो अवसर पाएका थिए । तर उनको प्रहार पोष्टमाथिबाट बाहिरीन पुग्यो । खेलको ३७ औं मिनेटमा भुटानले खेल बराबरी गर्न सफल भयो । भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले उत्कृष्ट गोल गरे ।
त्यसपछि पनि भुटानले नेपालको पोष्टमा आक्रमण गरेको थियो भने उसले दुई पटक पाएको मौकामा असफल भयो । यता नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । तर अनन्त तामाङ चुक्न पुगे । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५४ औं मिनेटमा सुनील बलले गोल गर्न सफल भए । जसका कारण नेपालले खेलमा फेरी अग्रता बनायो ।
त्यसको दुई मिनेटपछि नेपालले अर्को उत्कृष्ट मौका पाएको थियो । जसमा नेपालका अभिशेख रिजालले चुक्न पुगे । डिफेन्डरलाई विट गरेर प्रहार गरेको बललाई भुटानी गोलकिपरले मुस्कीलले बचाए । त्यसपछि भुटानले खेलमा फर्कन सकेन र नेपालले स्वर्ण हात पार्यो । हारपछि पनि भुटानले ऐतिहासिक रजत जित्न सफल भयो । जारी सागमा भुटानको यो पहिलो रजत हो । यसका साथै पुरुष फुटबलमा भुटानले रजत जितेको पनि पहिलो पटक हो । पुरुष फुटबलमा नेपाल मात्र अपराजित एक्लो टिम बन्यो ।
आफ्नो प्रतिकृया दिनुहोस्