काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थलको अध्यागमन कार्यालयको अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिइरहँदा अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा बुधबार विमानस्थलको अनुगमनमा पुगेका हुन् ।
गृहमन्त्री थापाले यात्रुहरूको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सीसीटीभी मोनिटरिङ कक्षलगायतको निरीक्षण गरे । अनुगमनपछि उनले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भए पनि यो अपर्याप्त रहेको भन्दै थप गुणात्मक सुधार गर्न निर्देशन दिए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजनाअनुसार अहिले अध्यागमनमा नेपालले आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य तथा नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सुरक्षा निकायका उच्च अधिकारीहरूसमेत विमानस्थल पुगेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्