काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले खेलाडीहरुमाझमा सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा संवद्ध सबैलाई धन्यवाद दिएका छन् । मंगलबार साग समापनका अवसरमा भिडियो सन्देश दिँदै उनले भूकम्पले क्षतिग्रस्त संरचना तयार पारेर साग आयोजना गर्नु ठूलो सफलता भएको बताए ।
दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली देश र जनताबीच एकता, मित्रता अभिवृद्धि गर्ने भन्दै उनले त्यो अपेक्षा यसपक सागले सफलतापूर्वक पूरा गरेको पनि प्रधानमन्त्री ओलीले बताए । आयोजक देशका खेलाडीको रुपमा नेपाली खेलाडीले अनुशासित, मैत्रीभाव र उत्कृष्ट प्रदर्शन गरेकामा प्रधानमन्त्रीले धन्यवाद दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्