काठमाडौं । अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ ।
बोइङले संस्थामा आत्मविश्वास पुनस्थापीत गर्नका लागि यो कदम चालिएको दाबी गरेको छ । बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गमाथि समेत दबाब पर्दै आएको थियो ।
गत सातामात्र बोइङले ७३७ म्याक्स विमान उत्पादन स्थगित गरेको घोषणा गरेको थियो । दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवारहरूले यसलाई राम्रो कदम भन्दै स्वागत गरेका छन् । यद्यपि उनको स्थानमा नियुक्ति पाएकाप्रति आशंका कायमै छ ।
ग्राहकसम्म विमान पुर्याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन् ।
बोइङले कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा अध्यक्षमा नियुक्त गरेको छ । उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहँदै आएका छन् । उनले १३ जनवरी, २०२० देखि आफ्नो कार्यभार सम्हाल्नेछन् ।
इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि संसारभर सो मोडलका विमानको उडानमा रोक लगाइएको छ ।
मालनबर्ग सन् १९८५ देखि बोइङ कम्पनीमा थिए । सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृत बन्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्