काठमाडौँ । गएराती धनुषामा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ ।
बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान)मा शनिबार बिहान ७ बजे मृत्यु भएको हो । यस्तै बम विस्फोटमा परेर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेहरुमाराजेश साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्कीकुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह रहेका छन् । यस्तै प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसरी घट्यो घटना
राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा एउटा झोला झुन्ड्याइएको थियो । मध्यरातमा राजेशकी श्रीमती शौचका लागि उठिन् । ढोकामा केहि झुन्डिएको देखेर श्रीमानलाई पनि उठाइन् ।
राजेशले तत्कालै झोला झुन्ड्याइएको देखेपछि प्रहरीलाई खबर गरे । घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ आफै घटनास्थल पुगे । ढोकाको मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि–अघि र २ जना प्रहरी जवान पछि–पछि गएर छोएर हेर्न खोज्दा बम विस्फोट भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्