काठमाडौं । मंसिरदेखि आंशिक रूपमा बन्द रहेको धनगढी विमानस्थल आजबाट पूर्ण रूपमा सुचारु भएको छ ।
धावनमार्ग मर्मत सम्भार र विस्तारको कामलाई निरन्तरता दिनका लागि १ मंसिरबाट आंशिक रूपमा विमानस्थल बन्द गरिएको थियो । हाल ८० प्रतिशत निर्माण कार्य सकिएको जनाइएको छ ।
निर्माण कार्य पूरा नभएको भए पनि यात्रुलाई परेको समस्यालाई दृष्टिगत गर्दै विमानस्थल मंगलवारबाट पूर्ण रूपमा सुचारु गरिएको विमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए ।
अब निर्माण कार्य रातिको समयमा गरिने उनले जानकारी दिए । आंशिक रूपमा विमानस्थल बन्द रहँदा नियमित ३ उडान भइरहेकोमा अब भने दैनिक ४ उडान हुने बुढथापाले बताए ।
आंशिक रूपमा विमानस्थल बन्द भएपछि बुद्ध एयरको दैनिक एउटा उडान रोकिएको थियो । अब बुद्ध एयरले उडान थपेको छ । भोलिबाट दैनिक उडान भर्ने बुद्ध एयर धनगढी सम्पर्क कार्यालयका प्रमुख बुद्धराम चौधरीले बताए ।
धावनमार्गमा मर्मत सम्भार र विस्तारको काम बाँकी रहेको भन्दै एक महिनाका लागि दिउँसो तीन बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द गरिएकोे थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ ।
झन्डै १८ करोडमा धावनमार्गमा थप कालोपत्रे भइरहेको छ भने दुवैतर्फ २र२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना छ । १८ करोडको लागतमा विमानस्थल मर्मतको काम भइरहेको बुढथापाले जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्