काठमाडौं । जुवा मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अवैध प्रवेशलाई लिएर नयाँ बहस सुरु भएको छ । के अब सम्पूर्ण जुवा खेल्ने जुवाडेलाई सम्पत्ति शुद्धीकरणले अनुसन्धानका लागि हिरासतमा लिन्छ ? के अब समातिने सबै जुवाडेको वैध–अवैध सम्पत्ति विभागले खोतल्छ ? के अब सवै जुवा मुद्दालाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा पठाउँछ त ? यस्ता प्रश्नहरु अहिले बहस बनेका छन् । क्षेत्राधिकार नाघेर जुवा मुद्दालाई कमाइखाने भाडा बनाउन लागेको आरोप लागिरहेका बेला विभागका प्रवक्ता एवम् सूचना अधिकारी विनोद लामिछानेले भने उनीहरुलाई ‘सम्वद्ध कसुर’ अन्तर्गत छानविन थालिएको दावी गरे । के जुवालाई विभागले हेर्न मिल्छ त ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘जुवालाई सम्वद्ध कसुर अन्तर्गत अनुसन्धान गर्न मिल्छ ।’
के छ ‘सम्वद्ध कसुर’ मा ?
सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को अनुसूचीमा दफा २ को खण्ड(श) सँग सम्वन्धित ‘सम्वद्ध कसुर’ अन्र्तगत (१) को ‘ष’ मा चिठ्ठा, जुवा वा चन्दालगायतलाई ‘सम्वद्ध कसुर’ भन्दै उल्लेख गरिएको छ । दफा २ को ‘श’ मा सम्वद्ध कसुर (प्रेडिकेट अफेन्स) भन्नाले अनुसूचीमा उल्लेखित कसुरलाई सम्झनुपर्नेछ । अर्थात अनुसूची (१) को ‘ष’ मा उल्लेख भएको चिठ्ठा, जुवा वा चन्दालगायत ।
कारबाही के हुन्छ ?
सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को दफा ३० मा दण्डसजाय उल्लेख भएता पनि स्पष्ट ब्यवस्था छैन । कसैले यो नियमको उल्लघंन गरेमा विगो खुलेको अवस्थामा विगो जफत गरी विगो बमोजिमको जरिवाना र विगो नखुलेमा दश लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
अब गत कार्तिक ९ गते महारनगरीय प्रहरी बृत्त महाराजगञ्जले पक्राउ गरेका २५ जना भीआइपी जुवाडेहरुलाई अब कस्तो कारबाही हुन्छ त ? चासोको विषय बनेको छ । जबकी उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले समेत कारबाही गरिसकेको छ ।
जुवा मुद्दा हेर्ने अधिकार पाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई ३० देखि ५० हजार रुपैयाँ धरौंटी लिएर छाडिसकेको छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ ।
दोस्रो पटक जुवा खेले वा खेलाएको खण्डमा एक बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यसपछि पनि जुवा खेले वा खेलाउने कार्यमा संलग्न भए ३ बर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ । यसअघि जुवाडेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको थियो ।
जसमा सजायको न्यून ब्यवस्था थियो । उक्त ऐन अनुसार पहिलोपटक जुवा खेल्नेलाई २ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनासम्म कैद र तेस्रोपटक पनि खेलेमा एक बर्षसम्म कैदको ब्यवस्था थियो ।
यतिखेर भने जुवाडेहरुलाई पक्राउ गरेपछि पावर देखाउने क्रममा केही जुवाडेहरुले महाराजगञ्ज बृत्तका प्रमुख डिएसपी उमेश लम्सालको फुँली झार्ने तथा घटुवा गरिदिने धम्की दिएको आरोप लाग्ने गरेको छ । सोही विषयलाई लिएर आक्रोशित डिएसपी लम्सालले सम्पत्ति शुद्धीकरणको कार्यालयमै पुगेर जुवाडेहरुबाट अहिलेसम्मकै ठूलो रकम बरामद भएको र उक्त मुद्दा विभागले पनि हेनुपर्ने भन्दै कन्भिन्स गरेका थिए ।
सो क्रममा उनले आफूमाथि जुवाडेहरुले गरेको दुव्र्यवहार पनि जानकारी गराएका थिए । डिएसपी लम्सालको उद्देश्य उनीहरुलाई जति सक्दो बढि थुन्नुमा केन्द्रित थियो । उनी जुवाडेहरुलाई बृत्तमै २४ दिन हिरासतमा राख्न चाहान्थे । यद्यपि विभिन्न बहाना गरेर उनले पटक–पटक म्याद थप गर्न माग गरेर जुवाडेहरुलाई १६ दिनसम्म थुने । जबकी उनीहरुको बयान पक्राउ परेको पहिलो हप्तामै सकिएको थियो ।
अर्कोतिर, डिएसपी लम्सालकै कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग विवादमा तानिएको छ । आफ्नो क्षेत्राधिकार नाघेर मुद्दा हेर्न थालेको विभागले विभिन्न व्यक्तिको उजुरी हाल्न लगाउने तथा सूचना लिएपछि व्यक्तिलाई कार्यालय बोलाएर बार्गेनिङ गर्दै आएको आरोप लागिरहेको थियो ।
यही बेला विभाग जुवा मुद्दामा फसेको छ । उता जुवा खालमा तीन दर्जन बढि जुवाडेहरु रहेकोमा बाँकीलाई पक्राउ नगरेको तथा मुद्दा नचालएको भन्दै बृत्तका डिएसपी लम्साल विवादमा तानिएका छन् ।
जुवामा च्याँखे थाप्ने, हेर्नेलगायतका ब्यक्तिहरुलाई भगाएर करिब ३ करोड रुपैयाँ प्रहरीले आफ्नो पोल्टामा हालेको जुवाडेहरुबीच चर्चा छ । यद्यपि जुवा खेल्नेलाई विद्यमान कानुन अनुसार कारबाही हुनुपर्नेमा कुनै दुईमत छैन । (यूनाइटेड पोस्ट साप्ताहिक )
आफ्नो प्रतिकृया दिनुहोस्