रौतहटको राजपुर–६, कुडिया बजार क्षेत्रमा दुई पक्षबीच झडप भइरहेको बेला प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ । सोही स्थानकै स्थानीय दुई पक्षबीच भएको झडप नियन्त्रणबाहिर गएपछि स्थितिलाई नियन्त्रणमा लिन ३० राउण्ड हवाई फायर र २८ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कुडिया बजारनजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ ।
झडपका कारण कुडिया बजार क्षेत्र तनावग्रस्त रहेको छ । त्यस क्षेत्रमा प्रहरी नायव उपरीक्षक नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
कुडिया बजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ । बुधबार साँझ छठ पर्व मनाउनेहरूले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद शुरू भएको थियो । श्री सप्ताह मूर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद शुरू भएको हो । यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो ।
विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरूसँग छलफल गरेको थियो । मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास हानेको प्रहरीको भनाइ छ ।
आफ्नो प्रतिकृया दिनुहोस्