प्यूठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले बच्चालाई स्तनपान गराउने महिलाहरुको सुविधालाई मध्यनजर गरी कार्यालय परिसर भित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको सार्वजनिक सेवालाई सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत उक्त कक्षको व्यवस्था गरिएको हो । स्तनपान कक्षको एक कार्यक्रमकाबीच बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उद्घाटन गर्नुभएको हो ।
स्तनपान कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नवजात शिशुका लागि आमाको दुध अमृत समान भएको र आमाको दुध खान पाउने बच्चाको अधिकार हो भन्नुभयो । उहाँले कार्यालयमा सेवा लिन आउने महिलाले आफ्ना बच्चालाई दुध चुसाउन असहज मान्ने बच्चा रोइरहने अवस्था हुने हुँदा त्यस्तो अवस्थाको अन्त्य गरी कार्यालयलाई महिलामैत्री बनाउने उद्देश्यका साथ स्तनपान कक्षको व्यवस्था गरिएको कुरा बताउनुभयो ।साथै उहाँले जिल्ला प्रशासन कार्यालयले कार्यालयलाई सेवाग्राही मैत्री बनाउन सहायता कक्षको व्यवस्था, सुद्ध खानेपानीको व्यवस्था, प्रतिक्षालयको सुधार, महिला पुरुष छुट्टै शौचालय, डिजिटल नागरिक वडापत्र, मोवाइल एप आदिको व्यवस्था गरेको र यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङको सहयोगमा उक्त स्तनपान कक्षको व्यवस्था गरिएको हो । उक्त कक्षमा एकै पटकमा ५/६ जना महिलाले बच्चालाई स्तनपान गराउन सक्ने व्यवस्था रहेको छ । उद्घाटन कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रमुख तथा प्रतिनिधहरु एवं पत्रकारहरुको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय प्यूठानले पछिल्लो समयमा जिल्ला सुशासन कार्ययोजना निर्माण गरी सुशासन र सेवा प्रवाहका क्षेत्रमा नवीनतम कार्यहरुको सुरुवात गरेको छ जुन अन्य कार्यालयका लागि प्रेरणाको स्रोत पनि बनेको छ ।
कार्यालयमा सेवा लिने सेवाग्राहीमध्ये ९८ प्रतिशत भन्दा बढी सेवा ग्राही जिल्ला प्रशासन कार्यालयको सेवासँग पूर्णरुपमा सन्तुष्ट रहेको कुरा उक्त कार्यालयले गरेको सर्वेक्षणले देखाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्