काठमाडौं । भारतमा इन्डियन प्रिमियर लिग (आईपिएल) सुरु भएसँगै नेपालमा सट्टेबाजीको धन्दा चलाउने गिरोह पुनः सक्रिय भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले अनलाईनमार्फत सट्टेबाजीको धन्दा चलाउने गिरोह राजधानीमा छ्याप छ्याप्ती देखिन थालेका छन् । नागराज नामले कुख्यात नथमल अग्रवालले नेपालमा यो धन्दाको सुरुवात गरेको स्रोत बताउँछ । केही महिना अगाडी नागराज पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले ५० लाख र सम्पत्ती सुद्धिकरणले मागेको ५० लाख धरौटी बुझाएर रिहा भएका नागराज अहिले गुमनाम छन् ।
नागराजका सहयोगीका रुपमा रहेका गौरव तिवारीको समूहलाई लिएर अहिले पनि धन्दा चलाउँदै आएका छन् । सट्टेबाजी खेलाउँदै आएका तिवारीलाई प्रहरीले पक्राउ गर्दा उनको बैंक खातामा अवैध सात करोड ४७ लाख रकम देखिएको थियो । सट्टेबाजीका डन नागराज भन्ने अमृत अग्रवालसँग मिली तिवारीले सट्टेबाजी गरेको र पछि विवाद बढेपछि लण्डनबाट मास्टर एकाउन्ट खोली कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।
अहिले पुनः यो समूह एक भएर सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । तिवारीको समूहलाई तत्कालिन समयमा काठमाडौं परिसरले पक्राउ गरेको थियो । सो समयमा काठमाडौं परिसरमा एसएसपी विश्वराज पोखरेल थिए । पक्राउ पर्नासाथ मिडियामा ठूलो हल्ला गर्ने एसएसपी पोखरेलले अन्तिममा जुवा अन्तर्गत मुद्दा चलाए र उनलाई उन्मुक्ति दिलाएका थिए । उक्त काण्डमा ठूलै सेटिङ भएको थियो । खातामा करोडौं रुपैंया देखिए पनि पैसाको छानबिन नगरपछि ठूलै सेटिङ भएको पुष्टि भएको हो ।
पक्राउ परेका तिवारीलाई काठमाडौं प्रहरीले एक साता मै दुई सय रुपैयाँमा छुट्ने गरी मिशिल खडा गरेको थियो । तिवारीलाई संगठित अपराध, संस्थागत ठगी र सम्पत्ति सुद्दिकरणमा मुद्दा चल्ने भन्दै पोखरेलले मिडियासामु बताए पनि जुवा मुद्दा भन्दा अन्य कुनै मुद्दा लगाउन प्रहरीले सकेन । अहिले यहि गिरोहले आईपीएलमा सट्टेबाजीको धन्दा चलाईरहेको छ । प्रहरीका उच्च अधिकारीहरूको पैसा मिटरव्याजमा चलाउने तिवारीलाई पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालको पनि संरक्षण रहेको स्रोत बताउँछ ।
तिवारीसहित पक्राउ परेका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसीसँग दुई करोड ७७ लाख दुई हजार र नरेन्द्र सुवालसँग ७७ लाख बैंक खातामा रकम देखिएको प्रहरी अनुसन्धानमा खुलेको थियो । तिवारीसहित पाँच जना सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका थिए । आजको जनप्रहारमामा खबर छ ।
आफ्नो प्रतिकृया दिनुहोस्